प्रश्नः स्वां गम्य कस्तो कम्पनि हो ? मुनाफा बितरण नगर्ने भनेको के हो ? समुदायमा वितरण कसरी हुन्छ ?
— स्वां गम्य कम्पनि रजिस्ट्रारको कार्यालयमा २०७७ – ०६ – २१ मा दर्ता भएकाे मुनाफा वितरण नगर्ने, सामाजिक व्यवसाय गर्न खडा भएको कम्पनि हो। यो नीजी (प्राईवेट कम्पनि) पनि होइन, र पब्लिक लिमिटेड वा गैर-सरकारी संस्था नभइ पाँच जना युवाहरूले सुरू गरेकाे सामाजिक ब्यवसाय हो।
यस कम्पनि मार्फत विभिन्न वस्तु तथा सेवाको विशेष गरी कृषि र पर्यटकीय सेवाहरूकाे उत्पादन हुनेछ, र यसकाे बिक्रिबाट मुनाफा आर्जन गरिनेछ तथा प्राप्त मुनाफा बृहत्तर समुदायको हितको लागि विभिन्न क्रियाकलाप तथा सुविधाहरूमार्फत खर्च गरिनेछ ।
प्रश्नः याे विदेशी सहयाेगले वन्ने परियाेजना हाे ? वा किन विदेशी सहयाेग नलिने त ?
— के हामि नेपाली आँफै आँफ्नो लागी उपयाेगी केही निर्माण गर्ने सक्दैनाैं त भन्ने प्रश्नकाे उत्तर खाेज्न प्रयास गरिएकाे परियाेजना हाे याे ।
यसैले सम्पूर्णरूपमा अधिकतम् नेपाली स्राेत प्रयाेग गरी निर्माण गर्ने साेच रहेकाे परियाेजना हाे । यसैले हामि तपाइँहरू सबै नेपालीसँग सकेकाे याेगदानकाे लागि अपिल गरिरहेका छाैं । विदेशमा बस्नुहुने नेपालीले पनि यस परियाेजनामा याेगदान/लगानी गर्नसक्नुहुनेछ, र हामि अनुराेध पनि गर्दछाैं ।
प्रश्नः याे त राज्यकाे काम हैन र ? राज्यले यसमा लगानी गर्न सक्छ कि सक्दैन ?
— राज्यकाे जिम्मेवारीमा बा आमाहरू, युवाहरू, केटाकेटीहरू र गाउँकाे विकास अवस्य पर्दछ । यसैले हामि गाउँकाे विकासकाे नमुना हुने यस परियाेजनामा याेगदान गरिदिन स्थानीय सरकार, प्रदेश सरकार, र संघीय सरकारसंग हार्दिक अनुराेध गर्दछाैं । राज्यकाे मात्र दायित्व रहेका अनेकाैं परियाेजनाहरू नेपालमा असफल प्रायः रहेकाे अनुभवलाइ मध्यनजर गरी ब्यवसाय मार्फत दिगाे संचालन हुने गरी यस परियाेजनाकाे माेडेल विकास गरेका हाैं। यसैले याे राज्यकाे अपनत्व, सहयाेग, र संरक्षणमा सामुहिक तवरबाट निर्माण र संचालन गरिने परियाेजना हाे ।
प्रश्नः याे परियाेजना निकै ठूलाे जस्ताे देखिन्छ, लगानी कति हाेला ? यति धेरै लगानी नेपालीले मात्र जुटाउन सकियला त ?
प्रारम्भिक लागत इस्टिमेटमा सम्पूर्ण पूर्वाधारहरू निर्माण गर्न करीब रू १८ कराेड लाग्ने हाम्राे अनुमान छ । याे लागतकाे हिसावले त्यति ठूलाे नभएकाे तर गाउँकाे लागी ठूलाे भने अबस्य हाे । हामि याे रकम यहाँहरू सबैकाे सहृदयतामा जम्मा पार्न सकिन्छ भन्नेमा ढुक्क छाैं।
ब्यक्तिहरूबाट (मास फण्डिङ), ब्यवसायिक संस्थाहरूकाे सामाजिक उत्तरदायित्व (CSR) मार्फत, वा तीनै तहकाे सरकारहरू मार्फत याे रकम जम्मा पार्ने लक्ष यस परियाेजनाकाे रहेकाे छ
रू १,०००,०००/- का दरले १८० जनाबाट, वा
रू ५००,०००/- का दरले ३६० जनाबाट, वा
रू १००,०००/- का दरले १,८०० जनाबाट, वा
रू ५०,०००/- का दरले ३,६०० जनाबाट, वा
रू २०,०००/- का दरले ९,००० जनाबाट, वा
रू १०,०००/- का दरले १८,००० जनाबाट, वा
रू ५,०००/- का दरले ३६,००० जनाबाट, वा
रू १,०००/- का दरले १८०,००० जनाबाट ।
यसैले हामि तपाँइ सम्पूर्ण सहृदयी व्यक्तिहरू वा व्यवसायिक संस्थाहरूसँग याेगदानकाे लागी हार्दिक अनुराेध गर्दछाैं ।
प्रश्नः मुनाफा वितरण नगर्ने भनेकाे छ, नाफा नहुने भए म किन लगानी/योगदान गर्ने ? मैले यसमा याेगदान, रकम दिए बापत के प्राप्त गर्दछु त ?
— हामिले हाम्राे जीवन सम्पूर्ण रूपमा नाफामा मात्र निर्धारित गरेका पक्कै हुदैनाैं । हामि सवैले यस अघि पनि कैयाैं पटक विभिन्न सामाजिक र मानवीय हित हुने परियाेजनाहरूमा निस्वार्थ सहयाेग र याेगदान पक्कै गरेकै छाैं जस्तै: सामुदायिक भवन, विध्यालय वनाउन हाेस् वा उपचार खर्च जुटाउन वा भुकम्प, पहिराे, वा बाढी जस्ता प्रकाेपहरूमा।
यस परियाेजनामा तपाइँकाे योगदानबाट हामि सवैले केही न केही लाभ प्राप्त गर्ने तरिकाले विकास गरेका छाैं ।
तपाइँले यस परियाेजनामा याेगदान दिनुभएवापत प्राप्त हुने अतुलनीय आत्मसन्तुस्टि, आत्मगौरव, परियाेजना स्थलमा रहने तपाइँकाे नाम, र परियोजनाको निर्माण र संचालन पश्चात हुने बस्तु-सेवा खरीदमा पाउनुहुने छुटवाट तपाँइले प्रत्यक्ष लाभ लिनुहुनेछ भने परियाेजनाबाट ग्रामिण भेगमा बस्ने अवसरबाट बन्चित लाखाैं जनाले लाभ लिनेछन् ।
प्रश्नः म परियाेजना क्षेत्रमा बस्दिन, म किन योगदान गर्ने ?
— तपाइँ जुनकुनै क्षेत्रमा बस्नुभएपनि केहि योगदान अन्य क्षेत्रमा मानवीय कारणले पनि गरिदिन सक्नुहुन्छ। योगदान, दान, मानवमात्रको सेवाकाे हकमा कुनै पनि संकुचनले छेकिने हुनुहुँदैन भन्ने हाम्राे आग्रह र अनुराेध हाे।
प्रश्नः पूर्वाधार निर्माण गर्न लगानी गरिदिए पनि, यो दिगो संचालन हुनेछ भन्ने ग्यारेन्टी के छ ?
— हामीले गाउँ-घरमा सेवा उपलब्ध गराइ विक्रि गाउँ-घरमा पनि गर्ने, र शहर तथा विश्वबजारबाट पनि आगन्तुक/पर्यटक भित्र्याएर र कृषिबाट हुने उत्पादनको विक्रिमार्फत आय आर्जन गर्ने र समुदायमा लाभ पुग्ने गरी परियोजनाको दिगो संचालन गर्ने माेडेल निर्माण गरेका छौं। परियाेजना प्रशस्त मुनाफा गर्नुनपर्ने खालकाे नभएकाेले संचालन खर्च जुटाउन त्यति कठीन हुनेछैन ।
अर्काे, परियाेजना निर्माण गर्न सकेसम्म धेरैजनाबाट रकम जम्मा पार्ने माेडेलमा जानुकाे मुख्य उद्देश्य नै वस्तु वा सेवा विक्रीकाे निम्ति सुनिस्चित वजार निर्माण गर्नु हाे । हामिले एक डाटाबेस बनाएका छाैं जहाँ तपाँइ सबै याेगदानकर्ताहरूकाे सम्पर्क रहने छ, र पछि हामिसंग उत्पादनहरू शुरू भएपश्चात यहाँहरूलाइ खरीदकाे लागी सुचित गरिनेछ ।
प्रश्नः गाउँमा आजभोलि निकै कम मानिस छन्, सेवाग्राही नै कम हुन्छन्, यति धेरै लगानी किन गर्ने ?
— गाउँ आजभोली निकै कम मानिस बस्न सक्ने बनेको सही हो, तर गाउँ पुरै रित्तिएर जाने सम्भावना देखिँदैन, र हाल पनि गाउँमा बृद्ध अवस्थाकाे धेरै बा-आमाहरु हुनुहुन्छ । पछाडी पारिएका भनेर हामीले भनेका जात-जाती गाउँमै रहन बाध्य हुनेछन् र उनीहरु अरु दशकौं त्यहीँ नै रहने निश्चित छ।
गाउँमा रहने मानिस कम छन् भनेर सेवा-सुविधाबाट अरु बन्चित गर्नु अमानवीय मात्र हैन, अपराधिक सोच पनि हो। यसैले जनसंख्या कम नै भएपनि लगानी बढाउनु, सकेसम्म शहर र गाउँकाे बसाइ चक्र स्वस्थ वनाउनु र उनीहरुको सेवामा राज्य-व्यक्ति-कर्पोरेट जगत लाग्नु अनिवार्य शर्त हो भन्ने हाम्राे ठम्याइ हाे।
यस्तै यस केन्द्रले दीगाे रूपमा पर्यटकीय गन्तव्यकाे रूपमा सेवा दिने साेच रहेकाेले, जनसंख्या हाल कम भएपनि, यसले दीर्घकालिन रूपमा ग्रामिण तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा दिनेछ ।
प्रश्नः योगदान/लगानी गरेको रकमको उचित प्रयोग हुने र असफल नहुने ग्यारेन्टी के छ ?
— हामीसंग नेपालमा विविध क्षेत्रका असफल विकास र व्यवसायहरूकाे प्रशस्तै उदाहरण र अनुभवहरु छन्। यी सबैलाई मनन गर्दै, इमान्दार भएर कार्य गर्दा असफल हुनुपर्ने कारण कम नै छन्। यस परियोजनामा कुनै पनि छद्म तथा देखिने खराब रुची छैन, यो नै परियोजना सफल हुने पहिलाे शुत्र हो।
यसमा प्रष्ट व्यबसायिक याेजना छ । यसमा केवल व्यवसायिक मात्र उद्देश्य छैन, बृहत्तर समुदायकाे हित हुने सेवा संचालन गर्ने साेच पनि छ । यसैले याे चुनाैतिपुर्ण पक्कै छ, तर सबै मिलेर सफल वनाउनु पर्ने परियाेजना नै हाे । र सवैकाे सहृदयी सहयाेग, शुभेक्षाले सफल पक्कै हुनेछ ।
प्रश्नः परियाेजना निर्माण हुने स्थान जराङ सुगम हाे कि बिकट ? पर्यटकीय रूपमा उपर्युक्त छ त ?
— परियाेजना स्थल रमणीय छ । काठमाण्डाैबाट जम्मा १५० कि.मि. काे दुरीमा अवस्थित छ, र सडक पहुँच छ । २०१५ वा २०७२ सालकाे बारपाक भुकम्प पश्चात याे क्षेत्र विश्वभरी परिचित छ, जुन जीप वा माेटरबाइक, वा साइकल टुर, हाइक गर्न अत्यन्तै उपर्युक्त छ । बारपाक, लाप्राक, धार्चे डाँडा, भच्चेक, रूपिनाला, बुढीगण्डकी परियाेजना सवै सम्भावना बाेकेका पर्यटकीय स्थलहरू नजिकै याे परियाेजना रहेकाे छ ।
प्रश्नः परियाेजना निर्माण हुने स्थानकाे स्वामित्व कसकाे हाे ? लिजमा हाे भने जग्गाधनीहरूले परियाेजना निर्माण पश्चात संचालनमा केही बाधा किचलाे गर्नुहुन्छ कि हुन्न ?
— हामिले १५ बर्षकाे निम्ति लिजमा करीब १२० राेपनी जग्गा २०-२२ जना समाजसेवी, सहयाेगी, र उच्च साेच भएका जग्गाधनीहरूबाट लिएका छाैं । याे बृहत्तर समुदायले लाभ लिने एक सामाजिक परियाेजना भएकाेले र व्यक्तिगत नाफाकाे निम्ति संचालन नभएकाेले कुनै पनि बाधा नहुनेमा/नगर्नेमा हामि सहमत छाैं ।
प्रश्नः याे परियाेजनामा के त्यस्ताे विशेषता छ ? अरू भन्दा के फरक छ ?
— हामिले अहिलेसम्म कि विदेशी दाताले सहयाेग गरिदिने, निर्माण पश्चात स्थायित्व खासै नहुने र अपनत्व पनि नहुने, उत्पादनमा कुनै दिगाेपन नहुने परियाेजना देखेका छाैं, कि ब्यक्ति वा कम्पनीले नैतिक-अनैतिक अनेक तरहले मुनाफा साेहाेर्ने नाफामुलक ब्यवसाय देखेका छाैं ।
यी दुवै माेडेलकाे वीचमा यस परियाेजनाले उत्पादन गर्ने, ब्यवसाय पनि संचालन गरी मुनाफा गर्ने, र प्राप्त मुनाफालाइ बृहत्तर समुदायकाे हितमा लगानी र खर्च गर्ने गरी विकास गरिएकाे छ । पर्यटन र कृषिबाट हुने मुनाफा यसमा संलग्न नहुने छेउछाउका बासिन्दाहरू र बस्तिहरू पनि लाभान्वित हुने नयाँ माेडेलकाे रूपमा यसकाे विकास गरिएकाे छ । यसैले याे नितान्त पृथक छ ।