हाम्रो दृष्टिः
एकीकृत सुविधा र क्रियाकलापहरू मार्फत निरस बनेको गाउँलाई पुनर्जागृत र पुनर्ताजगी गर्दै जीवन्त, खुसीले भरिएकाे, समुन्रत, र समृद्ध गाउँले जीवनको एक नमुना विकास गर्ने। ‘साझा समृद्धि र खुसी’को एक नविनतम् प्रयोगशाला निर्माण गर्ने।
हाम्राे लक्ष्यः
केही दशक पहिलेसम्म जीवन्त, खुसीले भरिएको र हराभरा गाउँको जीवन हालैका दिनहरुमा विविध कारणहरूले गर्दा निरस, दयनीय, र उजाड जस्तै बन्दै गएको छ, यसलाई पुनर्जागृत र पुनर्ताजगी गर्ने हाम्रो प्रमुख लक्ष्य हो । स्वां गम्यले वातावरणमैत्रि, नवीनतम्, र आर्थिक रूपले दिगो सुन्दर केन्द्र निर्माण गरी गाउँको जीवनलाई आनन्दित, गौरवमय बनाउने; जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै, विविध सुविधा र क्रियाकलापहरूमार्फत खुसी र आनन्दित जीवनको लागि मद्दत गर्नेे; युवा, विद्यार्थी लगाएत अन्य सबै उमेर समुहका ब्यक्तिहरूलाई स्वस्थ, समृद्ध र खुसी जीवनको लागि विविध कृयाकलापहरु सँचालन गर्ने; आदिवासी ज्ञान, शिल्प, कला, संस्कृतिको संरक्षण, प्रसार गर्ने लक्ष्य लिएको छ ।

हाम्राे लाेगाेकाे बारेः
लाेगाेकाे शीरमा रहेकाे ज्वाजल्यमान गाढा बैजनी रङकाे एक प्रकारकाे अर्किड फुल हाे, जुन रङ र आकृतिले सद्भाव, परिष्करण, विचारशिलता संगै उत्कृष्टता र राजकीय भाव दर्शाउँछ।
हरियाे रङमा रहेकाे दुइवटा नीमकाे पातहरुले पर्यावरण, प्रकृति, शान्त वातावरण जनाउँदछ । नीम अद्भुत अाैषधीय गुणहरुले भरिपूर्ण एक बनस्पति हाे ।
यस्तै, सुन्तला रङकाे आकृतिले ध्यान मुद्राकाे संगै सकारात्मक भावना, न्यानाेपन, उर्जा, र उत्साह बताउँदछ ।
यसरी समग्रमा स्वां गम्य प्रकृति, वातावरण, मानवता, सकारात्मकता सहित साझा समृद्धि र खुसी पहिल्याउने एक विचार हाे ।
पूर्वीय, रैथाने/आदिबासी, र पश्चिमा ज्ञानको समागम मार्फत गाउँको गाैरवमय जीवनलाई पुनर्जागृत गर्ने, र पुनः जीवन्त, खुसियाली सहितको, आनन्दित गाउँले जीवन निर्माण गर्ने मुख्य लक्ष्य सहित यो परियोजनाको सुरुवात गरिएको हाे। विशेष गरी जेष्ठ नागरिक बा-आमाहरूकाे जीवनमा केही मात्रामा भएपनि खुसी र उत्साह थप्ने, उहाँहरूको जीवन अनुभवलाई कदर गर्दै, पछिल्लो पुस्तासम्म पुर्याइ जीवन्त राख्ने अर्को उद्देश्य यस केन्द्रको रहेको छ।
किन यो परियोजना अपरिहार्य बन्याे ?
जीवन्त, आनन्दित, सक्रिय, र जम्मा-जम्मी तीन दशक अघिसम्मको अत्यन्तै लोभलाग्दो हराभरा गाउँ-बस्तीहरू विविध खाले आन्तरिक समस्याहरु लगाएत देश-विदेशमा आएको परिवर्तनको चपेटामा परी हाल अत्यन्तै दयनीय हुन पुगेको छ । युवाहरु शहरकेन्द्रित र वैदेशिक रोजगारीमा जाने, गाउँमा बालबच्चाको शिक्षा र स्वास्थ्यको उपर्युक्त व्यवस्था नहुने वा कमजोर हुने, र रोजगारीको उपलब्धता नहुने, उद्यमशिलता विकास नहुने जस्ता कारणहरुले गर्दा गाउँको जीवन्त र सक्रिय जीवन चक्र तोडिएको छ । र, गाउँ वृद्ध बा-आमाहरूको अन्तिम सास पर्खने निर्जन र निरस ठाउँको रूपमा परिवर्तित हुँदै गएको छ । केही बा-आमाहरू शहरमा बाध्यताबस रहे पनि मन भने गाउँघर तिरनै बसेको कारण कैयौँ डिप्रेसनको शिकार हुन पुगेका छन्।
यस्तै, गाउँकाे उर्वर भूमि जसमार्फत हजारौँ जनसंख्या र सयौँ परिवारहरूलाई सदियाैँ पालेको थियो, हाल बन्जर भूमिमा परिणत भएको छ। हाल गाउँका स्कूलहरु महत्वहीन हुँदै गएका छन् र गुणस्तर दिनदिनै कमजाेर हुँदै गइरहेकाे छ, जसकाे कारण अबको अर्को केही दशक पछिको हाम्रो समग्र भविष्य झन् कमजोर बन्ने निश्चित छ।
रैथाने, आदिबासीहरूले जानेको जीवन जिउने सिप, विविधखाले शिल्प, कला, संस्कृति लगाएतका अनुपम निधिहरू आधुनिक विकास र प्रविधि विस्तारको कारणले लुप्त हुँदै गईरहेको छ।
गाउँहरूले समान रूपमा व्यहाेरिरहेकाे यि र यस्तै विविध समस्याहरूका बीचमा केही योगदान गर्ने, गाउँहरूलाइ पुनः जागृत गर्ने, तथा रमणीय, र समृद्ध-समुन्नत बनाउने उद्देश्य राखेर यो परियोजना विकास गर्ने सोंच बनाईएको हो।
स्वां गम्य परियोजनाको प्रमुख केही उद्देश्यहरू यस प्रकार रहेका छन् ।
क) जेष्ठ नागरिक बा-आमाहरूको लागि मनोरन्जनात्मक, सूचनामुलक, आरामदायक, र खुसी बाड्ने विविध पूर्वाधारहरू निर्माण गर्ने, र दिवा केन्द्र संचालन गर्ने । जस्तै, योगा र ध्यान स्थल, फिजिओथेरापी स्थल, श्रव्य-दृश्य (अडियो-भिज्युअल) कोठाहरू, साउना र नुहाउने सुविधा सहितको स्थान, चेस-बाघचाल लगाएत घरभित्र खेलिने खेल तथा क्रियाकलापहरू, नि:शुल्क इन्टरनेट पहुँच जस्ता पूर्वाधारहरू ।
ख) स्थानीय र आसपासका विद्यार्थी बाबुनानीहरू, युवाबर्ग, र अन्य जनसंख्या लाभान्वित हुनेगरी विविध किसिमका तालिम, गाेष्ठी, कार्यशाला लगाएत गर्न एक सुविधासम्पन्न बहु-आयामिक हल निर्माण र संचालन गर्ने । साथसाथै पुस्तकालय र श्रोत केन्द्र संचालन गर्ने।
ग) कला, संस्कृतिको आदिबासी ज्ञान, सीप, शिल्पहरू संरक्षण, संवर्धन, र प्रवर्धन गर्न विविध कार्यक्रम गर्ने, कार्यशाला संचानल गर्ने गरी कला-शिल्प-संस्कृति केन्द्र खोल्ने ।
घ) कृषिलाइ शिक्षा, आरोग्य, पर्यटन मार्फत आर्थिक उपार्जन गर्दै समुन्नत समाज र समृद्धिसंग जोड्ने गरी स्वां गम्य बहु-आयामिक बहुउद्देश्यीय कृषि फारम संचालन गर्ने।
ङ) स्वास्थ्य र आरोग्यको लागी योग, ध्यान जस्ता क्रियाकलापहरू संचालन गर्ने। शारीरिक, मानसिक सन्तुलन कायम गरी सुखी-खुसी समाज निर्माण गर्न सहयोग गर्ने।
च) शिक्षा, स्वास्थ्य, वातावरण र पर्यावरण, आर्थिक उन्नति, समानता जस्ता सुखद र आनन्दमयी जीवनका लागी आवश्यक विविध बिषयहरूको तालिम संचालन गर्ने। र समाजका विविध बिषयहरूमा अध्ययन, अनुसन्धान गर्ने।
छ) उल्लेखित सामाजिक सेवाको कार्य दिगो रुपमा गर्न कृषिलाई, र पर्यटनलाई प्रयोग गर्ने। पर्यटकीय गन्तव्यको निर्माण गर्ने र विविध पूर्वाधारहरू निर्माण गरी पर्यटकीय गतिविधिहरू संचालन गर्ने।
ज) पूर्वीय, पाश्चात्य, आदिबासी, स्थानीय/रैथाने विविध ज्ञानको समागममार्फत एक उत्कृष्ट ‘साझा समृद्धि र खुसी’काे नवीनतम् प्रयोगशाला नमुनाकाे रूपमा विकास गर्ने।
गण्डक क्षेत्रमा उद्गम/बाहुल्य बसाइ रहेकाे गुरुङ/तमु समुदायको भाषाको ‘स्वां’ जसको शाब्दिक अर्थ ‘खुसी वा आनन्द’ सँग भारतीय उपमहाद्विपमा बाेलिने सैयाैं भाषाहरूकाे मातृ, प्राचीन संस्कृत भाषाको ‘गम्य‘ जसको नजिकको अनुवाद ‘प्राप्त गर्न सकिन्छ वा पुग्न सकिन्छ’ लाइ, मिलाएर ‘खुसी/आनन्द प्राप्त गर्न सकिन्छ’ वा ‘खुसी/आनन्दमा पुग्न सकिन्छ’ भन्ने अर्थमा स्वां गम्य को नामकरण गरिएको हो।
समतामुलक समाज र समुदाय, सबैको सह-सम्मान, न्यायपूर्ण समाज, दिगो र वातावरणीय रुपमा सचेत विकास जस्ता अवयव भएको साझा समृद्धि को नविनतम् मोडल हामि कल्पना गरिरहेका छौं।
यसैले, हामिले हाम्रो परियोजनालाई स्वां गम्य – ‘साझा समृद्धि र खुसी’ को एक नविनतम् प्रयोगशाला भनेका छौं।
खुसी बारे केहीः
उच्चतम आनन्दको चरमोत्कर्ष अवस्था, मनको चरम शान्त अवस्था जस्ता अनुभूतिले केही हदसम्म ‘खुसी’ को अवस्था वर्णन गर्दछ । विश्व खुसी रिपोर्टले ६ ओटा अवस्थालाइ खुसी जीवनको आधार मानेको छ: आय; स्वतन्त्रता; विस्वास; स्वस्थ जीवन; दीर्घ जीवन; सामाजिक सहयोग; र उदारता/सहयोग ।
आजको विश्व चरम रुपमा तनाव, र समस्याले गुज्रिरहेको छ । विज्ञान, प्रविधिको विकास र विस्तार, भौतिक प्रगति, आर्थिक सम्पन्नता जति नै भए पनि हाम्रो जीवन यसवाट खुसी हुन सकेको छैन । संयुक्त रास्ट्र संघले हरेक बर्ष मार्च २० तारेखको दिनलाई ‘अन्तर्राष्ट्रिय खुसीको दिवस’ मनाउन थालेबाट पनि हाम्रो जीवनमा खुसीको उपादेयता झल्काउँदछ।
स्वां गम्य, ब्यक्तिगत र समाजको सुख ; जीवनको हरेक मोड र पाइलामा प्राप्य हुनसक्ने खुसी; विस्वासयोग्य समाज; उदार र सहयोगी समाज; स्वस्थ, दिर्घ र सन्तुलित जीवन; पर्यावरण, हाम्रो धर्तीको समुचित र दिगो प्रयोग; प्रेरणादायी जीवन; तथा मानवता र समानता मुख्य खम्वाहरु रहेको एक नितान्त नयाँ दुर-दराजमा परिकल्पना गरिएकाे खुसी र समृद्धिकाे आधार बन्नसक्ने मुनाफा वितरण नगर्ने सामाजिक व्यवसाय हो र ‘साझा समृद्धि र खुसी’को नविनतम् प्रयोगशाला ।
स्वां गम्यको परियोजना बारपक-सुलिकोट गाउँपालिकाको शान्त, र सुन्दर दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित छ। यस परियोजना मार्फत अन्य छिमेकी गाउँहरूबाट कम्तिमा पनि ६ वटा गाउँपालिकाका ६०,००० भन्दा बढी वासिन्दा-नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
यस परियोजनाबाट प्रत्यक्ष लाभ लिनसक्नेहरूकाे संख्या यस प्रकार छ।
| गाउँपालिकाको नाम | वार्डहरु | लाभ पुग्ने जनसंख्या (अन्दाजी ) | कैफियत (प्रत्यक्ष लाभ पुग्ने गाउँ र टोलको नाम) |
| बारपाक-सुलिकोट | १-८ | २५,००० | सबै |
| धार्चे | ४ र ५ | ४४०० | लाप्राक, गुम्दा, र वरिपरिको क्षेत्र |
| अजिरकोट | १,४ र ५ | ८६०० | घ्याचोक, सिम्जुङ, र मुच्चोक वरपर |
| सिरान्चोक | ५,६,७, र ८ | ११५०० | छोप्राक, गाँखु, श्रिनाथकोट, जौबारी वरपर |
| आरुघाट | ५,६,७, र ८ | ९००० | आरु-अर्बाङ, र आरुपोखरी क्षेत्र |
| भिमसेन थापा | १,२, र ५ | ७५०० | मसेल, तान्द्राङ, र बगुवा वरपरका क्षेत्र |
| जम्मा | —— | ६४००० |
यो संग-संगै नेपालभरका अन्य क्षेत्रबाट र विश्वबाट भ्रमण-अध्ययनमा आउने युवा, विध्यार्थीहरू लगायत लाखाैंले यस परियाेजनाबाट लाभ लिनेछन्।
स्वां गम्यको पहिलो नमुना परियोजना बारपाक-सुलिकोट गाउँपालिका वडा नम्वर ८, जराङमा रहेकाे छ। समुद्री सतहवाट अन्दाजी १,०५० मिटरको उचाइमा मनासलु हिमश्रिङ्खला तर्फ फर्केको यो मनोरम गाउँवाट हिमालचुली (७,८९३ मि.) सहित मनासलु (८,१५६ मि.) को सानो टुक्रा, ङ्गादि चुली (७,८७१ मि.), वौद्ध हिमाल (६,६७२ मि.) देखि माछापुछ्रे र अन्नपूर्णको गुजुमुज्जु परेको सुन्दर हिमचुचुराहरू देख्न सकिन्छ।
समशितोष्ण हावापानी रहेको यस स्थानमा हिउँदका दिनहरु न्यानो र घमाइलो रहन्छ भने गर्मीमा अधिकतम ३० डिग्री मात्र पुग्छ। यसैले वर्षभरी नै हावापानी स्वस्थकर र सुविधाजनक रहन्छ ।
पुष्पलाल मध्य-पहाडी राजमार्गको घ्याम्पेशल – मशेल खण्डवाट जराङ (स्वां गम्य परियाेजना स्थल) अन्दाजी ५ किमिको दूरीमा पर्दछ। बारपाक सुलिकोट गाउँपालिकाको प्रशासनिक कार्यालय पाल्खुवाट सामुन्ने रहेको जराङ पुग्न अन्य प्रमुख शहरहरूबाट निम्न दूरी पर्दछ :
काठमाण्डौं (संघीय राजधानी) बाट …………………………………..…… १५६-१६० कि.मि.
पोखरा (प्रदेश राजधानी तथा क्षेत्रीय अन्तर्रास्ट्रिय विमानस्थल) ………… १२३-१२५ कि मि
चितवन रास्ट्रिय निकुञ्ज र भरतपूरबाट …………………………………. १०८-११० कि मि
गौतम वुद्ध अन्तर्रास्ट्रिय विमानस्थल भैरहवा तथा
सुनौली वोर्डर (नेपाल-भारत) …………………………………………… २०४-२०६ कि मि
रक्सौल (नेपाल भारत वोर्डर) वाट अन्दाजी ………………………………. २३० कि मि
यसरि देशका प्रमुख ब्यापारिक शहरहरूबाट केही घण्टामा पुग्न सकिने, बीचमा पर्ने यस परियोजना स्थल अत्यन्तै सुगम र सहज स्थानमा रहेको छ।